Sunday, December 22, 2024

मुलुकभर सडक दुर्घटनामा परि एकैदिन २२ जनाकाे मृत्यु,वार्षीक तथ्याङ्क डरलाग्दाे

Share

काठमाडौँ, बढ्दो दुर्घटनाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । २४ घण्टाको बिचमा काठमाडौँसहित दाङ, बागलुङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन्।

तथ्याङ्क अनुसार नेपालमा प्रत्येक वर्ष २ हजार ८८० जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ भने प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति सडक दुर्घटनामा परेर घाइते हुने गरेको तथ्याङ्क रहेको छ । ‘नेपालमा प्रत्येक दिन ७ देखि ८ जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ । प्रत्येक दिन ४० जना घाइते हुने गरेका छन्’, उनले भने, ‘तर, भालुवाङ घटनामा एक निमेष मै १२ जनाले ज्यान गुमाउनु परेको छ । २२ जनाभन्दा बढी घाइते भएका छन् ।’

नेपाल स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले दैनिकरुपमा सडक दुर्घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे ।  यस्तो भयावह तथ्याङ्कका बिच अब सरोकारवालाको चेत खुल्न जरुरी भएको भन्दै उनले सडक सुरक्षाका लागि पहलकदमी लिनमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।

शुक्रबार राति दाङको भालुवाङमा भएको यात्रुवाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दाङको भालुवाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको १२ जनाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार मृतकका शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ भने केहीलाई आफन्तको जिम्मा लगाइसकिएको छ ।

यसैगरी चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरामा शनिबार दिउँसो भएको सवारी साधन दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको पनि उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको ढुंगेलले बताए ।

यता बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध.१ ज १९ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका–४ खुङगा बस्ने २७ वर्षीय तिलक घर्ती मगर र जिपमा सवार काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल बस्ने २८ वर्षीया सङ्गीता अधिकारी गैरेको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भइरहेको छ ।

त्यस्तै काठमाडौँकै नागार्जुन नगरपालिका–४ बाफस्थित सोल्टी दोबाटो नजिक बा.९१ प १५९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौँ कोटेश्वर बस्ने ४५ वर्षीय रबिन कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता झापाको झापा गाउँपालिका–५ स्थित सडकमा बा.४६ प २१०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय गुनाल राजवंशीको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी दोलखाको जिरी नगरपालिका–४ सिउरेनीमा लु.३ त ६८८२ नम्बरको ट्याकटर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–४ मोक्पा बस्ने २४ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । राताेपाटीमा खवर छ।

spot_img

Table of contents

Read more

Local News