भौगोलिक कठिनाईका बीच पनि चलिरहेको उपल्लाे डोल्पाकाे शिक्षाक्षेत्र । ( फाेटेफिचर सहित )
dolpotimes
रूपक कुलाल धाेतराप,डाेल्पा
डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो । समुद्री सतहबाट एक हजार तीन सयदेखि सात हजार छ सय २५ मिटरसम्मको उचाइमा अवस्थित डोल्पा भौगोलिक र साँस्कृतिक रुपमा तल्लो डोल्पा र उपल्लो डोल्पा गरी दुइ क्षेत्रले परिचित छ । संघीय संरचना अनुसार हाल डोल्पा जिल्लालाई आठ वटा स्थानीय तहमा विभाजन गरिएको छ । जसअन्तर्गत उपल्लो डोल्पामा तिन वटा स्थानीय तहहरु शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिका रहेका छन् । स्थानीय भाषामा यस क्षेत्रलाई त्होल्पो भनिन्छ जसको अर्थ पहिरो जस्तो चारैतर्फबाट मानिस जम्मा हुनु हो अथवा प्रकृतिक स्रोतको भरिपूर्णता । वि.सं. २०१७ साल भन्दा पहिले स्वदेशी तथा विदेशी लेखकहरुले प्रकाशन गरेका लेख, पुस्तक र नक्शाहरुमा त्होल्पोको सट्टा डोल्पो उल्लेख गरेको पाइन्छ ।
यसैका आधारबाट वि.सं. २०१८ सालमा जिल्ला कायम हुँदा यसको नाम डोल्पो रहेको थियो । यही नाम परिवर्तन हुन गई हाल यस जिल्लालाई डोल्पा नामले चिनिन्छ ।
समग्र डोल्पा जिल्लाको ऐतिहासिक प्रादुर्भावको महत्व बोकेको त्होल्पो (डोल्पो) क्षेत्रका गाउँहरु समुद्री सतहदेखि तीन हजार सात सयदेखि चार हजार तीन सय मिटरसम्मको उचाइमा रहेका छन् । यस क्षेत्रको अधिकांश भुगोल अर्ध–मरुभूमि जस्तै छन् । विषम जलवायु र कठिन भुगोल भएकाले जाडो याममा यहाँको तापक्रम अधिकतम २० र न्युनतम माइनस ३० देखि माइनस ४० डिग्री सेल्सियससम्म पुग्दछ । जसले गर्दा यहाँको बासिन्दा कष्टपुर्ण जिवन गुजार्न बाध्य छन् । आधुनिक विकासका दृष्ट्रिकोणले पछि परेको अधिकांश गाउँहरुमा आलु र जौ गरी दुई प्रकारका बाली मात्र उत्पादन हुने भएकाले कृषि उत्पादनबाट मात्र जिविकोपार्जन हुन मुश्किल छ । साथै हाल गरिएको पशुपालनले मात्र पनि यहाँका बासिन्दाको आधारभूत जीविकोपार्जन मुस्किलले धानिरहेको छ ।
अघिल्लो पिँढीबाट हस्तान्तरण भएको परम्परा, भाषा (डोल्पो बोली) र सीपलाई शुद्धतम रूपमा सुरक्षित राखिएको छ । कठिन जनजीवनका वावजुद पनि यो क्षेत्र प्राकृतिक, धार्मिक, साँस्कृतिक सौन्दर्यका हिसाबले भरिपुर्ण छ । भौगोलिक रुपमा बिकट यो क्षेत्रमा शिक्षा प्राप्ति पनि उत्तिकै गा¥हो छ । यहाँको राम्रोसँग चलेको विद्यालय मध्यको एक विद्यालय हो क्रिस्टल माउण्टेन विद्यालय । डोल्पाको धोतरापस्थित यो विद्यालय बि.सं २०५० सालमा स्थापना भएको हो । भर्खरै मात्रै विद्यालयले आफ्नो रजत महोत्सव समेत मनाएको छ । जिल्लाको डोल्पो बुद्ध गाउँपालिका–३ स्थित यो विद्यालय सञ्चालन भएको २५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमका साथ डोल्पो महोत्सव सुरु गरिएको हो । मंगलबारदेखि सुरु पाँचदिने महोत्सव उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । विद्यालय फ्रान्सेली नागरिक मेरी आमाको सहयोगमा सञ्चालन हँदै आएको छ । नेपाल सरकारको न्यून सहयोग रहेको यो विद्यालयका ४ वटा भवन रहेको क्रिस्टल माउन्टेन विद्यालयका प्रधानाध्यापक मिनबहादुर विश्वकर्माले जानकारि दिनु भयो ।
विद्यालयमा अहिले पूर्व प्राथमिकदेखि कक्षा ८ सम्म पढाइ भइरहेको छ । बि.सं २०७५ सालमा यो विद्यालयमा कक्षा ७ सम्मको मात्रै अध्ययन हुँदै आएको थियो । यही शैक्षिक सत्र २०७६ देखि मात्रै कक्षा ८ सम्मको अध्ययन सम्भव भएको विद्यालयको भनाई छ । मा.वि सम्मको पढाई गराउने डोल्पाली जनप्रतिनिधीहरुको सोच रहेको छ । यद्दपी यहाँका विद्यार्थी कक्षा ९ को लागि अन्यत्र जानुपर्ने अवस्था छ । विश्वकर्माका अनुसार विद्यालयमा अहिले २ सय बालबालिका अध्ययनरत छन् ।
साना कक्षाहरुमा विद्यार्थीको संख्या सन्तोषजनक नै रहेपनि माथिल्लो कक्षाहरुमा भने विद्यार्थीहरुको उपस्थिति कम छ । जुन चिन्ताको विषयको रुपमा लिइएको छ । भौगोलिक हिसाबले बिकट डोल्पामा स्थानीय भाषा नै धेरै प्रयोग गरिन्छ । केहीलाई त नेपाली भाषा बोल्नै पनि आउँदैन । नेपाली भाषा प्रयोग गर्न गर्न नजानेका बालबालिकालाई भाषा सिकाउनु शिक्षकको प्रमुख जिम्मेवारी हुँदा सिकाइमा समेत समस्या आइरहेको छ ।
वर्षको ७ महिना मात्रै यस विद्यालयमा र अधिकांश डोल्पामा पढाई हुन्छ । अन्य महिना मौसमी कठिनाईका कारण विद्यालय बन्द नै रहन्छ । बैशाख र कात्र्तिक महिना विशेष गरी हिँउ धेरै पर्ने मौसम हो । १ वर्षको पाठ्यक्रम विद्यालय हुन्छ तर ७ महिना मात्रै अध्यापन गराउन सक्ने परिस्थिति रहँदा शैक्षिक अवस्था कस्तो होला भनेर आँकलन गर्न सकिन्छ । दरबन्दीबाट आएका शिक्षक पनि मौसम र भूगोलले गर्दा बस्न पनि सक्दैनन् । र, केही त यहाँ पढाउनै पनि आउन मान्दैनन् ।
यहाँ अध्ययन गरेका विद्यार्थीहरु निकै सफल पनि छन् । यस विद्यालयमा अध्ययन गरेका एक विद्यार्थी अमेरिकामा हाल पिएचडी गर्ने क्रममा रहेका छन् । हाल विद्यालयमा १२ जना शिक्षकहरु कार्यरत छन् । विद्यालय सरकारी बजेटभन्दा धेरै दातृ संस्थाको सहयोगमा चलिरहेको छ । पोशाक, स्टेशनरीदेखि लिएर सबै सामानहरु दातृ संस्थाले नै प्रदान गर्दै आएका छन् । शिक्षाको गुणस्तर कायम गर्नमा विद्यालय प्रयत्नरत छ । विषयगत शिक्षकहरु आउनै नमान्ने र आइहाले पनि १ वर्ष नबित्दै जाने गरेका छन् । जसले गर्दा विषयगत शिक्षकको अभाव खड्किएको छ । शिक्षक टिकाइ राख्नु पनि यहाँको अर्को प्रमुख चुनौती रहेको छ ।
विद्यालयमा अझै पनि पूर्वाधारको कमी छ । डोल्पाका अधिकांश विद्यालय दातृ संस्थाको सहयोगमा सञ्चालन भइरहेको छ । यहाँ नेपाल सरकारको सहयोग अत्यन्त न्यून छ । विद्यालयको ९५ प्रतिशत विकास निर्माणको काम दातृ संस्थाकै भरमा हुने गरेको स्थानिय ग्याल्पो थापा भोटे बताउँछन् ।
मौसमको कारण विद्यार्थीहरु पनि वर्ष भरि पढ्न सक्ने स्थिति छैन । त्यसमाथि शिक्षकहरु पढाउनको लागि जान नमान्दा स्थानिय र स्वयंसेवीको भरमा पढाई भइरहेको छ । डोल्पा प्राकृतिक रुपमा जति धनि छ त्यहाँको विकास पनि त्यही गतिमा भइदिए उच्च शिक्षाको लागि युवाहरु शहर केन्द्रित हुनुपर्ने थिएन । बाटोघाटो, विजुलीको सुविधा अझै पनि पुगिसकेको छैन । कहिले पुस्तक ढुवानीमा समस्या त कहिले प्रविधिको पहूँचमा यसले गुणस्तरीय शिक्षा प्राप्तिमा अझै समस्या नै छ ।